Harsamaya
विद्यार्थी आन्दोलनमाथि दमन भएको भन्दै राहुल गान्धीले मागे मोदीको राजीनामा 
भारतका प्रमुख विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी ।

काठमाडौं - भारतका प्रमुख विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि भएको प्रहरी दमनको विरोध गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास नजिक विपक्षी सांसदहरूसँग प्रदर्शनमा सहभागी भएका गान्धीले सामाजिक सञ्जालमार्फत सरकारले युवाको भविष्यसँग खेलवाड गरेको आरोप लगाउँदै प्रधानमन्त्री मोदीले नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने बताएका हुन्।

गान्धीले सरकार विद्यार्थी आन्दोलनप्रति जवाफदेही बन्न नचाहेको र यस विषयमा संसद्मा छलफल गर्नसमेत तयार नरहेको आरोप लगाए। उनले आन्दोलन दबाएर समस्याको समाधान नहुने भन्दै शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

सोमबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। घटनामा करिब ६० जना प्रदर्शनकारी घाइते भएका छन् भने दिल्ली प्रहरीका अनुसार ११८ जना प्रहरीसमेत घाइते भएका छन्।

‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा हजारौँ विद्यार्थी र युवाले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा परीक्षा प्रणालीमा सुधारको माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास र लाठी प्रयोग गरेको जनाएको छ भने प्रदर्शनकारीले प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्।

सीजेपीले मंगलबार पनि आन्दोलन जारी राख्दै शिक्षामन्त्रीको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग दोहोर्‍याएको छ। अभियानका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन नरोकिने बताएका छन् भने संस्थापक अभिजीत दिपकेले समर्थकलाई शान्तिपूर्ण रूपमा आन्दोलन जारी राख्न आग्रह गरेका छन्।

विद्यार्थीमाथि भएको दमनबारे संसद्मा छलफलको माग गर्दै विपक्षी दलले विरोध जनाएपछि मंगलबार भारतीय संसद्को बैठकसमेत अवरुद्ध भएको छ।

भारतमा पछिल्ला वर्षहरूमा प्रश्नपत्र चुहावट र प्रतिस्पर्धात्मक परीक्षामा देखिएका अनियमितताका घटनाले शिक्षा प्रणालीप्रति विद्यार्थी र अभिभावकको विश्वास कमजोर बनेको छ। यद्यपि संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमिततामा संलग्नमाथि कारबाही गरिरहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update