Harsamaya
देशभर ८ राजमार्ग प्रभावित, पाँच सडकखण्ड पूर्ण बन्द
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार राति ८:४५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पाँच सडकखण्ड पूर्ण रूपमा बन्द, दुई सडकखण्डमा रातिको सवारी रोक र दुई स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीका अनुसार इलामको राजदुवाली–ताप्लेजुङ सडक, खोटाङको दिक्तेल–भोजपुर सडक, ताप्लेजुङको पाथीभरा–खोक्से खोला क्षेत्र, सिन्धुपाल्चोकको जिरोकिलो–तातोपानी सडक, कोदारी क्षेत्रको अरनिको राजमार्ग तथा बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छन्।

भोजपुरको मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङ ल्हामु सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरको कान्ति लोकपथमा पनि अर्को सूचना नभएसम्म राति सवारी चलाउन रोक लगाइएको छ।

प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update