Harsamaya
सात राजमार्ग पूर्ण अवरुद्ध, बिपी र कान्ति लोकपथमा राति सवारी रोक
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षाले देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार साँझ ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।

यस्तै, कान्ति लोकपथ मा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ।

यसैबीच, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रोल्पाको सहिद मार्ग, खोटाङको मध्यपहाडी लोकमार्ग र ताप्लेजुङको मेची राजमार्ग पहिरो, लेदो र हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update