पर्वत - कुश्मा नगरपालिका–९ एकोहोरे पाटास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २:३० बजे कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ का १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। उनीहरूको प्रदेश अस्पताल कुश्मामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा–१७ बिरौटामा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

