काठमाडौं - लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १२ स्थानमा सडक तथा राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द र केहीमा एकतर्फी मात्र सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीका अनुसार बीपी राजमार्ग (काभ्रे) र कान्तिलोकपथ (हेँटौंडा–फर्पिङ–ललितपुर खण्ड) मा बाढीका कारण सबै प्रकारका सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका दुई स्थान, मेची राजमार्ग (इलाम), बराहक्षेत्र–भित्री सडक (सुनसरी), सालझण्डी–सन्धिखर्क सडक (अर्घाखाँची) र रिडी–वामीटक्सार सडक (गुल्मी) मा पहिरोका कारण पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ।
त्यसैगरी भोजपुर, मकवानपुर, कास्की, बागलुङ तथा गुल्मीका केही सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

