रामेछाप - स्थानीय कृषि उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गरी किसानलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीमा शीतभण्डार निर्माण गरिएको छ ।
बागमती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण भएको हो।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाका अनुसार २०७५ सालदेखि निर्माण सुरु गरिएको शीतभण्डार ५ करोड ३० लाख ९५ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो ।
त्यसैगरी, शीतभण्डारको घेराबारा तथा पालेघर निर्माणका लागि बागमती प्रदेश सरकारबाट थप ५० लाख रुपैयाँ अनुदान प्राप्त भएको उनले जानकारी दिए ।
नवनिर्मित शीतभण्डारको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले मंगलबार उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बागमती प्रदेश सरकारले किसानलाई लक्षित गरी विशेष कार्यक्रम ल्याएको जानकारी दिए।
आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लामा कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गरिने उनले बताए ।
किसानले १० लाख रुपैयाँसम्म ऋण लिँदा लाग्ने ब्याज प्रदेश सरकारले तिरिदिने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पौडेलले किसानलाई कृषि तथा पशुपालन व्यवसायमा प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताए ।
मन्थलीमा स्थापना भएको शीतभण्डारबाट स्थानीय किसानले अधिकतम लाभ लिन सक्ने उनले विश्वास व्यक्त गरे। शीतभण्डार किसानका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उनले यसको प्रभावकारी उपयोग आवश्यक रहेको बताए।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगर कार्यपालिकाको बैठकबाट आवश्यक कार्यविधि निर्माण गरी शीतभण्डार सञ्चालनमा ल्याइने जानकारी दिए। किसानले पर्याप्त मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले मलको सहज आपूर्तिका लागि आवश्यक पहल गरिदिन प्रदेश सरकार र मन्त्री पौडेलसँग आग्रह गरे।
यसअघि रामेछाप जिल्लामा एउटा पनि शीतभण्डार नहुँदा किसानले उत्पादन गरेका कृषि उपज लामो समयसम्म सुरक्षित राख्न समस्या हुँदै आएको थियो। मन्थलीमा शीतभण्डार निर्माण भएसँगै किसानले आफ्ना उत्पादन सुरक्षित रूपमा भण्डारण गरी बेमौसममा बजारमा बिक्री गरेर राम्रो मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
शीतभण्डार सञ्चालनमा आएपछि जिल्लाको कृषि उत्पादनको बजारीकरण, मूल्य संरक्षण तथा किसानको आम्दानी वृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

