Harsamaya
मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, जलविलेमा फेरि पहिरो
जलविलेमा पहिरो ।

चितवन - अविरल वर्षाका कारण पहिरोको जोखिम अत्यधिक बढेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार बिहान आपतकालीन विपद् व्यवस्थापन समितिको बैठकपछि सुरक्षाको दृष्टिले उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडकबीच अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई रातिसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।

मंगलबार बिहान पुनः जलविले नजिक पहिरो खसेपछि सडक सञ्चालन हुन सकेको छैन। अन्य स्थानमा खसेका पहिरो र लेदो हटाउन सम्बन्धित क्षेत्रमा डोजर तथा अन्य मेसिन परिचालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम अझै उच्च रहेको भन्दै प्रशासनले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न सबै यात्रुसँग आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update