चितवन - लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले विशेषगरी नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन भनेको छ। आवश्यक परे नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मनसुन अझ सक्रिय भएकाले राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन सक्ने निष्कर्ष निकाल्दै सुरक्षा निकाय, सडक, सिँचाइ, जलस्रोत र वन कार्यालयलाई मेसिनसहित तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।
समितिले तुइन खोला र सेती दोभान क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको औंल्याएको छ। साथै, भरतपुर–२३ मा रहेको पुरानो होल्डिङ सेन्टर खाली गरी सम्भावित विपद्का बेला प्रभावितलाई राख्न मिल्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ।
प्रशासनले नदी किनार र जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै मौसमको अवस्था सामान्य नहुँदासम्म अनावश्यक यात्रा नगर्न अपिल गरेको छ।

