काठमाडौं - कुमारी आमाका रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसा पीडित बिनु यादवले न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटअगाडि सडकमै धर्ना दिएका छन्।
उनीहरूले सांसदको प्रवेश पास हुँदाहुँदै पनि प्रहरीले माथिको आदेश भन्दै गृह मन्त्रालय प्रवेश गर्न नदिएको आरोप लगाएका छन्। त्यसपछि उनीहरू वर्षामा निथ्रुक्क भिज्दै सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा सुतेका हुन्।
काखमा सानो बच्चा बोकेकी निहारिका र बिनुले आफूहरू न्यायको खोजीमा पटक–पटक सरकारी निकाय धाउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूले गृह मन्त्रालयमा आफ्ना माग राख्न खोज्दा प्रवेशमै रोक लगाइएको दाबी गरेका छन्।
घटनाबारे प्रहरी वा गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। यद्यपि, सामाजिक सञ्जालमा यो घटनाको तस्वीर र भिडियो व्यापक रूपमा फैलिएको छ भने सर्वसाधारणले पीडितलाई मन्त्रालय प्रवेशमा रोक लगाइनुको कारणबारे प्रश्न उठाएका छन्।

