काठमाडौं - कास्कीको अन्नपूर्ण गाउँपालिकामा आएको ठूलो बाढीले घर, होटल, रेष्टुरेन्ट, सडक र झोलुङ्गे पुलमा ठूलो क्षति पुर्याएको छ।
आइतबार किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको जलस्तर एक्कासि बढ्दा अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमानास्थित स्याउलीबजारमा दिलीप गुरुङको घर र होटल बगाएको छ। स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, किम्रुङ खोलामाथिको झोलुङ्गे पुल बगाउँदा अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटकको यात्रा प्रभावित भएको छ।
स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनिएपछि एक्कासि खुल्दा लेदोसहितको बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।
बाढीको जोखिम बढेपछि प्रशासनले मोदी खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ। नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।
घटनापछि गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन र उद्धार तथा व्यवस्थापनमा जुटेको छ।

