काठमाडौं - भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा ज्ञानराज कण्डेल विरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेका थिए। प्राप्त उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कण्डेलले जग्गा रोक्का गर्ने प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउँदै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख–हैरानी दिएको र अन्ततः ४० हजार रुपैयाँ घुस लिएपछि मात्र काम गरिदिने सर्त राखेको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै ४० हजार रुपैयाँ बिगो कायम, सोही बराबर जरिवाना, बिगो असुल र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
भूमिसम्बन्धी सेवा प्रवाहमा घुस माग्ने र सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने प्रवृत्तिविरुद्ध अख्तियारले निगरानी र कारबाहीलाई थप कडा बनाएको जनाएको छ।

