Harsamaya
निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध मुद्दा
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर ।

काठमाडौं - निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वरको फार्मेसी शाखामा करिब २ करोड ९१ लाख रुपैयाँ बराबरको औषधि हिनामिना र भ्रष्टाचार भएको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आठ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अस्पतालका फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि नै आपूर्ति नभई सफ्टवेयरमा बिल र स्टक इन्ट्री गरेको, करोडौं रुपैयाँका औषधि म्याद गुज्रिएर स्टोरमै थन्किँदा पनि त्यसको व्यवस्थापन नगरेको तथा कम्प्युटरमा मौज्दात देखाइएको औषधि वास्तविक स्टोरमा नभेटिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सञ्चालनमा संलग्न कर्मचारीहरूले अस्पताल फार्मेसी सेवा निर्देशिका–२०७२ ले अनिवार्य गरेको वार्षिक ‘ट्रायल ब्यालेन्स’ तयार नगरेको पुष्टि भएको छ। यही विषय महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा समेत औंल्याइएको थियो।

अख्तियारका अनुसार सम्झौताअनुसार म्याद सकिएका वा बिक्री नभएका औषधि आपूर्तिकर्ताले फिर्ता लिनुपर्ने र प्रतिस्थापन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै जिम्मेवार कर्मचारीहरूले ती औषधि फिर्ता नगरी सरकारको सम्पत्तिमा हानी पुर्‍याएका छन्। अझ आपूर्तिकर्ता कम्पनीको धरौटी फिर्ता गर्नुअघि लेखा शाखाले म्याद गुज्रिएका औषधि छन् वा छैनन् भनेर राय माग्दा फिर्ता गर्नुपर्ने औषधि छैन भन्ने गलत लिखित जानकारी दिई धरौटीसमेत फिर्ता गराएको आरोप छ।

अख्तियारले यसबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानि पुगेको निष्कर्ष निकालेको छ।

यस प्रकरणमा फार्मेसी युनिट इन्चार्ज दिपा ढुङ्गाना, दिनेश पन्त, लवेन्द्र कुँवर, दिपक सापकोटा, स्टोरकिपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने तथा फार्मेसी सहायक सन्दीप तिवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको छ।

अख्तियारले सबै प्रतिवादीसँग समान २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गरी सोही बराबर जरिवाना, कैद र बिगो असुल गर्न विशेष अदालतसँग माग गरेको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update