Harsamaya
धनकुटाका जिल्ला नेतृत्वका पदाधिकारीसहित दर्जनौँ नेताले छाडे काँग्रेस 
नेपाली कांग्रेस ।

काठमाडौं - धनकुटामा नेपाली कांग्रेसको जिल्ला नेतृत्वविरुद्ध असन्तुष्टि चुलिँदा जिल्ला कार्यसमितिका पदाधिकारीसहित दर्जनौँ नेताले सामूहिक रूपमा राजीनामा दिएका छन्।

जिल्ला सभापति दिनेश राईलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा पार्टी सञ्चालनमा एकलौटी निर्णय, कार्यकर्ताको भावना र सुझावको बेवास्ता तथा संगठनलाई कमजोर बनाउने गतिविधि भएको आरोप लगाइएको छ। सोही कारण आफूहरू पार्टीको जिम्मेवारीबाट अलग हुन बाध्य भएको उनीहरूले उल्लेख गरेका छन्।

राजीनामा दिनेमा जिल्ला उपसभापति गीता कुँवर, जिल्ला सचिव कल्पना तामाङ, जिल्ला सहसचिव गोमा कुमारी राई, जिल्ला कोषाध्यक्ष रञ्जना तामाङ, क्षेत्रीय (ख) सभापति सुवर्ण तुम्बाहाम्फे, क्षेत्रीय (ख) सचिव रामकुमार राई, क्षेत्रीय (ख) कोषाध्यक्ष भोगनाथ तामाङ, क्रियाशील सदस्य कृष्ण विष्ट, पितबहादुर प्रधान, रूपनारायण तुम्बा, केशव तामाङ, सोनी विष्ट, टेन्द्र तामाङ, चन्द्रकुमार तुम्बा, हरि तुम्बा, विष्णु श्रेष्ठ विष्ट, प्रवीण तुम्बा, फूलमाया विष्ट, धनबहादुर तुम्बा, उदयबहादुर राई र सुमन राई रहेका छन्।

त्यसैगरी भ्रातृ तथा शुभेच्छुक संस्थाबाट नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिका अध्यक्ष, नेपाल किसान महासंघ जिल्ला कार्यसमितिका अध्यक्ष, महाधिवेशन प्रतिनिधि र प्रदेश (ख) प्रतिनिधि लगायतले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजीनामा पत्रमा पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाको अभाव भएको उल्लेख गर्दै वर्तमान नेतृत्वसँग सहकार्य गर्न नसकिने निष्कर्ष निकालिएको छ। यो घटनाले नेपाली कांग्रेस धनकुटाको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update