हेटौँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकाले कान्ति लोकपथमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार सूचना जारी गर्दै असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन अनुरोध गरेको हो।
प्रशासनका अनुसार गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनाअनुसार ती दिन देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ। यसले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी र नदीमा जलसतह बढ्ने जोखिम रहेको जनाएको छ।
प्रशासनले नदी, खोला, ताल तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने र नदी तर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरेको छ। साथै, पहिरो र डुबानको जोखिम भएका क्षेत्र तथा नदी किनारमा अनावश्यक आवतजावत नगरी विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयको आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
वर्षायाममा जोखिमको अवस्था हेरेर जिल्लाभित्रका सडकमा सुरक्षाकर्मीले आवश्यक परे केही समयका लागि आवागमनसमेत रोक्न सक्ने भएकाले त्यसमा सहयोग गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।

