काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्य विकास कार्यक्रमअन्तर्गत बाँठपाली देवता मन्दिर निर्माणका लागि विनियोजन गरिएको रकम अनियमित रूपमा खर्च गरिएको पाइएको हो।
निर्माण भएकोभन्दा बढी काम भएको देखाई, अस्वाभाविक दर कायम गरी र सम्झौताअनुसारको जनसहभागिताको रकम कट्टा गरेर नक्कली बिल–भरपाईका आधारमा २२ लाख १ हजार ६६५ रुपैयाँ भुक्तानी गरिएको आयोगको आरोप छ।
उक्त प्रकरणमा दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल, सबइन्जिनियर बमबहादुर बोहरा, तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं. ६ का अध्यक्ष मोहनलाल विक तथा बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध समान बिगो र सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

