काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरे । यस्तो अवस्थामा नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपर्ने अवस्था दुःखद् रहेको उनको भनाइ छ ।
नेपाल आयल निगमले नेपालले कच्चा नभई प्रशोधित तेल खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको प्रभाव तत्काल नपर्ने बताउँदै आएको स्मरण गराउँदै पौडेलले प्रशोधन खर्च र समयको अन्तर भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि घटाउनुपर्ने तर्क गरे ।
मूल्य घटिरहेको वास्तविक सूचना नदिई पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाउँदा उपभोक्ता थप मारमा परेको उनले बताए । यसले सरकार र नेपाल आयल निगमभित्र सुशासन, व्यवस्थापकीय क्षमता तथा पारदर्शितामाथि प्रश्न उठाएको उनको भनाइ छ ।
पौडेलले प्रत्येक १५ दिनमा आउने नयाँ मूल्यसूचीका आधारमा स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम समान रूपमा गर्नुपर्ने उल्लेख गरे । ‘भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागू नहुने ? घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा राहत नपाउने ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

