Harsamaya
असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण गरिने सरकारको दाबी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं – सरकारले आगामी असारको तेस्रो सातादेखि भूमिहीन नागरिकलाई जग्गा वितरण सुरु गर्ने भएको छ। पहिलो चरणमा बर्दियाबाट जग्गा वितरणको प्रक्रिया थालिने र त्यसपछि अन्य जिल्लामा विस्तार गरिने तयारी गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगत सङ्कलन सम्पन्न भएका जिल्लामा जग्गा वितरण गर्ने तयारी अघि बढाएको हो। बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउँदै जग्गा वितरण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताइन् । 

मन्त्री रावलका अनुसार आवश्यक प्रक्रिया पूरा भएका जिल्लाबाट चरणबद्ध रूपमा जग्गा वितरण गरिनेछ भने बाँकी जिल्लामा पनि लगत सङ्कलन र प्रमाणीकरणको कामलाई तीव्रता दिइएको छ। सरकारले भूमिहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराएर सुरक्षित आवास र स्थायी बसोबासको अधिकार सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update