Harsamaya
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकामा सडक ढलान निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा विशेष अदालतबाट भएको सफाइको फैसला चित्त नबुझाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ मा सोरु गाउँपालिका–१ स्थित जवलधारा पीसीसी ढलान सडक निर्माणका क्रममा अनियमितता भएको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले उक्त निर्माण कार्यमा ७ लाख ६ हजार ७ सय ९९ रुपैयाँ ७५ पैसा बराबरको हिनामिना भएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको माग गरेको थियो। साथै झुट्टा कागजात तयार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको थियो।

तर, विशेष अदालत ले २०८२ फागुन २६ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसला चित्त नबुझेपछि आयोगले २०८३ असार ८ गते सर्वोच्च अदालत मा पुनरावेदन दर्ता गरेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update