काठमाडौं - नेपाली राष्ट्रियता, संस्कृति र मौलिक पहिचानलाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘झण्डा’ कला महोत्सव सुरु भएको छ। नेपाली कलाकारहरूको सिर्जनशील समूह ‘आर्ट बुम’को आयोजनामा असार ५ गतेदेखि सुरु भएको यस विशेष कला प्रदर्शनीमा नेपाल र बेलायतका स्थापित कलाकारसहित करिब तीन सय जना विद्यालय तहका बाल कलाकारहरूको सहभागिता रहेको छ।
त्रिकोणात्मक आकारको नेपाली झण्डाको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई क्यानभासमा उतारेर आयोजना गरिएको यो प्रदर्शनी ‘आर्ट बुम’ को २९औँ शृङ्खला हो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आर्ट बुमका संस्थापक एवं कलाकार रत्न शाक्यले नेपाली कला जगतलाई नयाँ ऐतिहासिक ‘मास्टर स्ट्रोक’दिन यो प्रयास गरिएको बताए । संसारकै भिन्न र गौरवशाली नेपाली झण्डालाई कलात्मक रूपमा समाजमा प्रस्तुत गर्नु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
३३ जना वरिष्ठ तथा युवा कलाकार, एक ब्रिटिस चित्रकार र सयौँ विद्यार्थीको सहभागितामा आयोजित यो प्रदर्शनी हाम्रो राष्ट्रिय झन्डाप्रतिको माया, सम्मान र सिर्जनात्मक अभिव्यक्तिको साझा प्रयास हो, उनले भने ।
सम्भवतः राष्ट्रको झन्डालाई केन्द्रमा राखेर एउटै क्यानभासमा सिर्जना गरिएको यो संसारकै पहिलो प्रदर्शनी हुन सक्ने उनले दाबी गरे । ‘झन्डा रहे पो त हामी, झन्डा नरहे हाम्रो अस्तित्व नै रहँदैन। कलाकारले कलामार्फत राष्ट्रिय झन्डाप्रतिको माया र आफ्नो भूमिकालाई अभिव्यक्त गर्न सक्छन् भन्ने सन्देश दिन यो प्रदर्शनी आयोजना गरिएको हो’, उनले भने, ‘एउटै क्यानभासमा सिर्जना गरिएको यो संसारकै पहिलो प्रदर्शनी हुन सक्छ।’
महोत्सवको उद्घाटन गर्दै मुख्य अतिथि एवं वरिष्ठ पाइलट तथा कलाकार क्याप्टेन विजय लामाले राष्ट्रिय झण्डा कुनै राजनीतिक दल वा समूहको मात्र नभई समग्र नेपालीको आस्था र एकताको बलियो कडी भएको बताए । उनले झण्डाको महत्त्वलाई हरेक नागरिकको घर-घरमा पुर्याउनुपर्ने र यसको गरिमालाई उच्च राख्नुपर्नेमा जोड दिए ।

भाषा र धर्मले भन्दा हाम्रो राष्ट्रिय झन्डाले नेपालीलाई मेचीदेखि महाकाली र हिमालदेखि मधेससम्म एकतामा बाँधेको उनले बताए । ‘भाषा होइन, धर्म होइन, तर झन्डाले मात्रै हामीलाई एकताको रुप दिन्छ त्यसैले झन्डाको सम्मान गरौँ, यसको महत्व मनन गरौँ र हरेक नेपालीले आफ्नो घरमा गर्वका साथ राष्ट्रिय झन्डा फहराउन पाउने वातावरण बनाऔँ’, उनले भने ।
उनले ‘झन्डा कला महोत्सव’ लाई ‘झन्डा महोत्सवको दिन’ बनाइदिन सरकारसँग आग्रह गरे । ‘ठूलो रुख बन्नलाई पनि एउटा बीज चाहिन्छ, आज तपाईंले बीज राख्दिनुभएको छ’उनले भने ‘यसलाई बिरुवा र रुख बनाइदिनुस्।’‘हामीलाई अमेरिका, सिङ्गापुर वा जापान बन्नु छैन, आफ्नै देशलाई राम्रो बनाउनुछ र त्यो परिवर्तनका लागि हाम्रो राष्ट्रिय झन्डा मात्रै काफी छ’ , लामाले भने ।
महोत्सवमा कला तथा सांस्कृतिक क्षेत्रका प्राध्यापक राधेश्याम मूलमी, वरिष्ठ कला समीक्षक मुकेश मल्ल, कलाकार गेहेन्द्रमान अमात्य लगायतको गरिमामय उपस्थिति रहेको थियो। टिमको अभिभावकत्व ग्रहण गर्दै प्रा. मूलमीले प्रदर्शनीलाई सफल बनाउन महत्त्वपूर्ण मार्गनिर्देशन गरेको आयोजकले जनाएका छन्।
यसका साथै, प्रदर्शनीमा अन्तर्राष्ट्रिय क्युरेटिङ र मार्गदर्शनमा लन्डनका वाल्ट डिज्नीका क्रिएटिभ डाइरेक्टर एवं आर्ट बुमका सल्लाहकार मार्क स्टेभिन राफ्टर तथा क्यानाडाबाट आएका प्रख्यात अन्तर्राष्ट्रिय चलचित्र निर्माता नादिन इक्बालको समेत विशेष उपस्थिति रहेको थियो।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको यो ऐतिहासिक ‘झण्डा’ कला महोत्सव एवं प्रदर्शनी असार ५ गतेदेखि ९ गते (जुन १९ देखि २३, २०२६) सम्म सर्वसाधारणका लागि खुला रहनेछ। कलाप्रेमी तथा राष्ट्रभक्त नागरिकहरूका लागि यो प्रदर्शनी राष्ट्रियता र कलाको त्रिवेणी अवलोकन गर्ने उत्कृष्ट अवसर बनेको छ ।
तस्वीरहरु :

