विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मानका लागि मुख्यमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा लागेका कुनै पनि खेलाडी निराश नहुने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विद्यालय उमेरका किशोर–किशोरीलाई खेलकुदतर्फ आकर्षित गर्न पुरस्कार तथा सम्मानका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले भने, ‘हामी प्रदेशमा खेल क्षेत्रलाई अत्यन्तै प्राथमिकताका साथ अघि बढाउनेछौँ ।’
गत जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले स्वर्ण, रजत र कांस्य गरी कुल २८ पदक जित्न सफल भएका थिए । प्रतियोगितामा चार खेलाडीले स्वर्ण पदक समेत जितेका छन् ।
खेलाडीहरूको हौसला अभिवृद्धिका लागि कोशी प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई १ लाख रुपैयाँ, रजत पदक विजेतालाई ७५ हजार रुपैयाँ, कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
साथै प्रशिक्षकलाई १५ हजार रुपैयाँ र व्यवस्थापकलाई १० हजार रुपैयाँसहित सम्मान गरिने कार्यक्रम रहेको छ ।

