एजेन्सी - दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित क्लिभल्यान्ड उपनगरको एक अनौपचारिक बस्तीमा मङ्गलबार राति भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार १० भन्दा बढी सशस्त्र व्यक्ति मिनीबसमार्फत बस्तीमा पुगेर स्थानीयमाथि अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका थिए। मृतकमध्ये नौ पुरुष र तीन महिला रहेका छन्। ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए।
घटनामा सङ्गठित आपराधिक गिरोहको संलग्नता हुन सक्ने आशङ्का गरिए पनि वास्तविक उद्देश्य खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हाल अपराध अनुसन्धान र गुप्तचर टोली परिचालन गरी व्यापक खोजी अभियान चलाइए पनि कुनै संदिग्ध पक्राउ परेका छैनन्।
दक्षिण अफ्रिकामा पछिल्ला वर्षहरूमा सामूहिक गोलीकाण्डका घटना बढ्दै गएका छन्। विशेषगरी जोहानेसबर्ग आसपासका क्षेत्रमा अवैध सुन उत्खननसँग जोडिएका गिरोहबीचको हिंसात्मक द्वन्द्व सुरक्षा निकायका लागि ठूलो चुनौती बनेको छ।

