एजेन्सी - चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर युरोप पठाउन लागिएको करिब एक सय टन लागुऔषध बरामद गर्दै देशकै इतिहासमा सङ्गठित अपराधविरुद्धको सबैभन्दा ठूलो कारबाहीमध्ये एक सफल भएको घोषणा गरेका छन् । अधिकारीहरूका अनुसार यो बरामदले अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाललाई ठूलो धक्का दिएको छ ।
सोमबार सार्वजनिक गरिएको विवरणअनुसार अभियोजन कार्यालय, समुद्री प्रहरी र भन्सार विभागको संयुक्त अभियानमा विभिन्न प्रकारका लागुऔषध मिसाइएको एक हजार ८० टन काठ नियन्त्रणमा लिइएको हो । भन्सार विभागले विज्ञप्ति जारी गर्दै यस कारबाहीलाई चिलीमा सङ्गठित अपराधविरुद्धको ‘ऐतिहासिक प्रहार’ को संज्ञा दिएको छ ।
बरामद गरिएका लागुऔषधमध्ये अधिकांश कोकिन र केटामाइन रहेको जनाइएको छ । युरोपेली बजारमा ती लागुऔषधको अनुमानित खुद्रा मूल्य करिब आठ अर्ब ३० करोड अमेरिकी डलर पुग्ने अधिकारीहरूको भनाइ छ ।
छ महिनासम्म सञ्चालन गरिएको अनुसन्धानका क्रममा बोलिभियाबाट आएको ४५ वटा कन्टेनर शङ्कास्पद देखिएपछि निगरानी बढाइएको थियो । ती कन्टेनरमा दाग लागेको काठभित्र अत्यन्तै योजनाबद्ध ढङ्गले लागुऔषध लुकाइएको फेला परेको थियो ।
भन्सार अधिकारीहरूका अनुसार उक्त कार्गो युरोप पुगेको भए काठभित्र मिसाइएका लागुऔषध निकाल्न विशेष प्रयोगशालामा उन्नत रासायनिक प्रक्रिया अपनाउनुपर्ने अवस्था हुने थियो । यसले तस्करहरूले लागुऔषध ओसारपसारका लागि अझ जटिल र परिष्कृत विधि प्रयोग गरिरहेको देखाएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले थप शङ्कास्पद कन्टेनरहरूको जाँच जारी रहेको जानकारी दिएका छन् । अनुसन्धान अघि बढ्दै जाँदा बरामद गरिएको कुल परिमाण अझै बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । चिलीले यस कारबाहीलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी नियन्त्रण अभियानमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

