काठमाडौं - सधैं विश्व फुटबलको दाबेदार टोलीमध्ये गनिने नेदरल्यान्ड्सले यसपटकको विश्वकपमा आफ्नो दशकौं लामो उपाधि प्रतीक्षाको अन्त्य गर्ने लक्ष्य राखेको छ । तीन पटक विश्वकप फाइनल पुगेर पनि उपाधि जित्न नसकेको यो डच टोलीका लागि उत्तर अमेरिकामा हुने विश्वकप २०२६ अर्को ठूलो अवसर बनेको छ ।
समूह ‘एफ’ मा रहेको नेदरल्यान्ड्सले जापान, स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । कागजमा हेर्दा डच टोली समूह विजेताको प्रमुख दाबेदार देखिए पनि जापान, स्विडेन र ट्युनिसियाले उसलाई सहज यात्रा गर्न नदिने संकेत गरेका छन् ।
सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगे पनि उपाधि जित्न नसकेको नेदरल्यान्ड्स यसपटक प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
भर्जिल भान डाइक, रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र कोडी गाक्पोजस्ता स्टार खेलाडीको उपस्थितिले डच टोलीलाई बलियो बनाएको छ । युरोपेली फुटबलमा लगातार प्रतिभाशाली खेलाडी उत्पादन गर्दै आएको नेदरल्यान्ड्सलाई फेरि एकपटक उपाधि दाबेदारका रूपमा हेरिएको छ ।
विश्वकपमा लगातार आठौं सहभागिता जनाउन लागेको जापान एसियाकै सबैभन्दा सफल टोलीमध्ये एक हो । विश्वकप २०२६ का लागि छनोट हुने पहिलो टोली बनेको जापानले चार वर्षअघि कतारमा जर्मनी र स्पेनलाई हराएर विश्व फुटबललाई चकित पारेको थियो । युरोपका विभिन्न लिगमा खेलिरहेका जापानी खेलाडीहरूको अनुभवले टोलीलाई बलियो बनाएको छ । यद्यपि जापानले अहिलेसम्म विश्वकपको अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । यसपटक त्यो इतिहास बदल्ने लक्ष्य टोलीको हुनेछ ।
युरोपेली छनोटमा संघर्ष गरेपछि नेशन्स लिगको प्रदर्शनका आधारमा प्लेअफमा पुगेको स्विडेनले युक्रेन र पोल्यान्डलाई हराउँदै विश्वकपको टिकट सुरक्षित गरेको थियो ।
एलेक्जेन्डर इसाक, भिक्टर ग्योकरेस, लुकास बर्गभाल र एन्थोनी इलाङ्गाजस्ता स्टार खेलाडीले स्विडेनलाई खतरनाक टोली बनाएका छन् । प्रशिक्षक ग्राहम पटरको नेतृत्वमा टोलीले १९९४ मा अमेरिका विश्वकपमा सेमिफाइनल पुगेको स्मरण दोहोर्याउने आशा गरेको छ ।
विश्वकपमा सातौं सहभागिता जनाउन लागेको ट्युनिसियाको मुख्य लक्ष्य पहिलो पटक समूह चरण पार गर्नु हो । कतार विश्वकपमा फ्रान्सलाई हराए पनि नकआउट चरण पुग्न असफल भएको टोली यसपटक त्यो कमी पूरा गर्न चाहन्छ ।
अफ्रिका कप अफ नेशन्सपछि प्रशिक्षक परिवर्तन गरेको ट्युनिसियाले साब्री लामौचीलाई जिम्मेवारी दिएको छ । युवा खेलाडी खालिल अयारी टोलीका प्रमुख आकर्षणमध्ये एक मानिएका छन् ।
नेदरल्यान्ड्स समूहको सबैभन्दा बलियो टोली देखिए पनि जापानको अनुशासित खेल, स्विडेनको युरोपेली अनुभव र ट्युनिसियाको संघर्षशील शैलीले समूह ‘एफ’ लाई विश्वकपका सबैभन्दा प्रतिस्पर्धात्मक समूहहरूमध्ये एक बनाएको छ । डच टोली उपाधि यात्रातर्फ अघि बढ्न चाहन्छ भने अन्य तीन टोली आफ्नो क्षमता प्रमाणित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछन् ।

