काठमाडौं - नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा पुगेको छ र बङ्गालको खाडी हुँदै नेपाल आइपुग्न थप समय लाग्नेछ।
उहाँका अनुसार मनसुन भित्रिने निश्चित मिति भन्न नसकिए पनि आगामी एक हप्ताभित्र नेपालमा प्रवेश गर्ने सम्भावना छ। मनसुन प्रणालीको सक्रियताका आधारमा यो अवधि केही दिन अगाडि वा पछाडि पनि हुन सक्ने बताइएको छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ मानिन्छ। तर यस वर्ष भारतमा समेत मनसुन औसत समयभन्दा ढिलो पुगेकाले नेपालमा पनि केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको मौसमविद्हरूको भनाइ छ।
यस वर्षको मनसुनमा देशभर औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ। साथै केही क्षेत्रमा अतिवृष्टि तथा अनावृष्टिको जोखिम रहने सम्भावना पनि औँल्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनजन्य विपद्का कारण यस वर्ष ५१ हजार परिवारका करिब दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
सोही आधारमा प्रतिकार्यका लागि राष्ट्रिय योजना कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

