काठमाडौं - प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि बेलायतसँग पनि संवाद गरिने अभिव्यक्ति दिएपछि भारतले औपचारिक प्रतिक्रिया जनाएको छ। भारतले दुई देशबीचका सीमा सम्बन्धी विषयहरू ‘द्विपक्षीय संयन्त्रमार्फत’ समाधान गरिने स्पष्ट पारेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत–नेपाल सीमाको अधिकांश भागको सीमांकन भइसकेको र बाँकी विषयहरू समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको बताए। उनले सीमा विवादमा कुनै तेस्रो पक्षको भूमिका आवश्यक नरहेको संकेत गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै ब्रिटिस भारतको समयदेखि समस्या रहँदै आएकाले बेलायत सरकारसँग पनि संवाद गरिने बताएका थिए। उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुने विश्वास व्यक्त गरेका थिए।
तर भारतको पछिल्लो प्रतिक्रियाले प्रधानमन्त्रीको भनाइप्रति अप्रत्यक्ष असहमति देखिएको कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ। विशेषगरी भारतले वर्षौंदेखि नेपालसँगका सीमा मुद्दालाई द्विपक्षीय विषयका रूपमा मात्र व्याख्या गर्दै आएको छ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिले संसद् र सार्वजनिक वृत्तमा समेत बहस चर्काएको छ। उनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको हुनसक्ने टिप्पणी गरेपछि विपक्षी दल र कतिपय विश्लेषकले सरकारको धारणा स्पष्ट पार्न माग गरेका छन्।

