काठमाडौं - नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको हो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै अलआउट भयो। चीनका शेनजियान झेङले सर्वाधिक ३१ रन बनाए भने डु जियानहाओले १७ र कप्तान तियान सेनकुनले १३ रनको योगदान दिए। अन्य ब्याटर नेपाली बलिङसामु टिक्न सकेनन्।
नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट हात पारे भने नन्दन यादवले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो। यो नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै दोस्रो ठूलो स्कोर हो। नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको कीर्तिमान कायम गरेको थियो।
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बने। उनले केवल ४३ बलमा १६ छक्का र पाँच चौकाको मद्दतले १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो दोस्रो शतक हो। यससँगै भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।
यही खेलमार्फत भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पनि पूरा गरेका छन्। यो उपलब्धि हासिल गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै दुई हजारभन्दा बढी रन बनाइसकेका छन्।
कुशल मल्लले ४७ बलमा आठ चौका र पाँच छक्काको मद्दतमा अविजित ८५ रन बनाए भने रोहितकुमार पौडेलले २१ बलमा सात छक्का र पाँच चौका प्रहार गर्दै अविजित ६९ रन जोडे।
नेपालको विशाल स्कोर निर्माणमा भुर्तेल र मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको साझेदारी तथा मल्ल र पौडेलबीच तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी निर्णायक रह्यो।
जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ। अब नेपालले बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। नेपालले प्रतियोगितामा बलियो सुरुआत गर्दै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।

