Harsamaya
‘श्रीमान् होस् त काजी जस्तो’
नेपाली फिल्म ‘काजी ।

काठमाडौं - शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् ।

प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

दर्शकले फिल्ममा काजी र कजिनीको प्रेमकथालाई रुचाएका छन् । ‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिईरहेका छन् । दर्शकबाट त्यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिएको अभिनेता विपिन कार्कीले बताए ।

उनले भने, ‘म शुक्रबार काठमाडौंमा रहेका प्राय हलमा पुगे, जहाँ पनि दर्शक भावनात्मक हुनुभएको पाएँ । कत्तिले हामीलाई काजी जस्तै श्रीमान् चाहियो पनि भन्नुभयो, केहीले श्रीमान् त काजी जस्तो हुनुपर्छ पनि भन्नुभयो । हामीले एउटा मनछुने प्रेमकथा दर्शकसामु ल्याएका छौँ, जातिले हेर्नुहुन्छ, पक्कै अन्य दर्शकलाई सिफारिस गर्नुहुनेछ ।’

उनले शनिवार पनि विहानदेखि नै काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको बताए । फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।

अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायांकन निर्देशन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराज को नृत्य निर्देशन रहेको छ । फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update