Harsamaya
प्रहरीले काफल सडकमा पोखे, मेयरले कार्यकक्षमा बोलाएर माफी माग्दै सहयोग गरिन्
पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गर्दै मेयर मोहमाया ढकाल ।

काठमाडौं -  काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार  गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो । उक्त नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले जानकारी दिए । का अनुसार पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्तिस्वरुपको रकम प्रदान गरिएको हो ।  

नगरप्रहरीले मङ्गलबार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको र ती महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो ।

सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रहरी र नगरपालिकाको सेवाबारे सर्वत्र आलोचना भएको थियो । त्यसलाई तत्काल सम्बोधन गरेपछि सबैले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update