Harsamaya
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ।

काठमाडौं - कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ ।

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट वि.सं. २०८० कार्तिक १४ गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो । यो वर्ष विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप नाम सार्वजनिक गरियो ।

यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरू आबद्ध छन् ।

रचनात्मक उद्योगमा चलचित्र, संगीत, डिजाइन, शिल्प तथा लोक कला, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला लगायत विधामा सदस्यता प्रदान हुने गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update