काठमाडौं - सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिती रहेको थियो । भेलामा २२ बढी जिल्लाका सुकुमवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले सातै प्रदेशमा सरकारले बिना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने कार्य गरे देशै भरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरु एक भएर सशक्त प्रतिबाद गर्ने बताए ।
सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा वस्तीमा डोजर आतंक मच्याएपछि देशभरका ११ लाख बढी परिवारका झन्डै ५५ लाख नागरिक प्रभावित भएको संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले बताए ।
त्यस्तै संघर्ष समितिका संयोजक खड्क बहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुमवासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाउनुभयो । उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने पौडेलले बताए ।
प्रदर्शनपछिको सभालाई सातै प्रदेशका भूमिहीन र अव्यवस्थित बसोबासी अगुवाले सम्बोधन गरेका थिए । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरको संघर्ष समिति गठन गरी त्यसले सरकार तथा प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्ने संघर्ष समितिका सचिव रामचन्द्र भट्टराईले जानकारी दिए ।

