बाजुरा - बाजुराको धार्मिक आस्थाको धरोहर भू-स्वर्ग बडीमालिका जाने क्रममा एकजना तीर्थयात्रीको मृत्यु भएको छ । भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो ।
मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासि बेहोस भएका थिए ।
बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।
उनले दिएको जानकारी अनुसार,मृतक पन्थीको शव अहिले जिल्ला अस्पताल मार्तडी राखिएको बताए।आज आफन्त पुगिसकेपछि लासको पोस्टमार्टम गरेर जिम्मा लगाइने जानकारी दिए ।
मृतक पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उप-सचिव ३४ वर्षीय शिवहरी न्यौपाने, शाखा अधिकृत वर्ष ३२ का जीवन घिमिरे र लेखापाल वर्ष ३५ का उमेश शर्मा बडीमालिका दर्शनको लागी हिँडेका थिए ।

