काठमाडौं - प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले अरनिको राजमार्ग र तातोपानी नाकाको पुनर्निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।
सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद पराजुलीले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले भूकम्पपछि १० वर्ष बितिसक्दा पनि अरनिको राजमार्ग र तातोपानी भन्सार क्षेत्र भग्नावशेषमै रहनु दुःखद भएको बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त आयोजनालाई प्राथमिकतामा राखी पुनर्निर्माण अघि बढाउन आग्रह गरे ।
त्यस्तै उनले सिन्धुपाल्चोकसहित देशभर रहेका गुठी समस्याको समाधान गरी लामो समयदेखि जमिन कमाउँदै आएका किसानलाई स्वामित्व प्रदान गर्नुपर्ने माग गरे ।
सांसद पराजुलीले बाँदर, बँदेल र नीलगाईजस्ता वन्यजन्तुको आतंकका कारण किसान र कृषि क्षेत्र प्रभावित भएको उल्लेख गर्दै ती जनावरको व्यवस्थापनका लागि विशेष योजना ल्याउन सरकारसँग आग्रह गरे ।
उनले कृषकको पेशागत सुरक्षा र खाद्यान्न आत्मनिर्भरताका लागि सिन्धुपाल्चोकको लिसंखुपाखर–४ मा बाँदर तथा बँदेल पार्क निर्माण गर्नुपर्ने प्रस्ताव समेत अघि सारे ।

