काठमाडौं - श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । यो देश गरीबको पनि हो, सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो ।
खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अधिकार हो, भूमीहिन समस्या दीर्घकालीन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।
उक्त खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको आरोप लगाए ।
उनले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नुपरेको बताए ।
उनले भने, ‘सुकुम्बासीको घर भत्काइरहनु भएको छ । कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ । सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो । नेपालको सीमा नाकामा गएर हेर्नुस्, सीमा सुरक्षामा रहेको हाम्रो नेपाल प्रहरीले कति समस्या खेप्नु परिरहेको छ । नेपालको जग्गा कब्जा भइरहेको छ । प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ। सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफैं अन्योलमा देखिएको छ ।’
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै आफ्नो परिवारको नाममा रहेको जग्गाबारे स्पष्ट पार्न पनि आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ । तपाईं आफैं भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बाउको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमीन पनि तपाईंको जस्तो भएको छ ।’

