Harsamaya
पोखरा महानगरद्वारा अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पोखरा - पर्यटकीय राजधानी पोखरामा लामो समयदेखि अलपत्र रहेको बसपार्क निर्माण प्रक्रिया अघि बढाउन पोखरा महानगरपालिका ले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।

विसं २०३२ मा पृथ्वीचोक क्षेत्रमा २०५ रोपनी जग्गामा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि सारिएको थियो। उक्त क्षेत्र पूर्वमा सेती नदी, पश्चिममा साबिक ट्राफिक भवन, दक्षिणमा विमानस्थल र उत्तरमा साल्ट ट्रेडिङ क्षेत्रभित्र पर्ने गरी राजपत्रमा समेत प्रकाशित गरिएको थियो। तर, पाँच दशकसम्म निर्माण कार्य अघि नबढ्दा बसपार्कको जग्गा हाल ४७ रोपनीमा सीमित भएको छ।

महानगरको अध्ययनअनुसार बसपार्क क्षेत्रभित्र ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्। व्यवस्थित बसपार्क अभावमा हाल सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारी छुट्ने गरेका कारण पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त र जामको समस्या हुने गरेको छ।

यही वैशाख ३ गते बसेको कार्यपालिका बैठकले अतिक्रमित संरचना हटाउने निर्णय गर्दै सूचना जारी गरेको हो। यसैबीच, संघीय राजधानी काठमाडौँ मा पनि पछिल्ला दिनहरूमा अतिक्रमित जमिन खाली गराउने अभियान तीव्र बनेको छ।

तर, बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय तथा सुकुमवासीहरूले उचित व्यवस्थापनबिना हटाउन नहुने माग गरेका छन्। कृष्ण टोल आमा समूहकी अध्यक्ष रुपा केसीले आफूहरू बसपार्क निर्माणको विरोधी नभएको स्पष्ट पार्दै वैकल्पिक व्यवस्थापन भए स्थान छोड्न तयार रहेको बताइन्।

त्यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले पनि सुकुमवासीलाई पहिले सोही वडा वा नजिकै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। व्यवस्थापनबिना खाली गराउने निर्णयले आफूहरू चिन्तित बनेको उनको भनाइ छ।

मजदुर नेता रुद्र गौतमले भने बसपार्क निर्माणका लागि छुट्याइएको २०५ रोपनी जग्गा पूर्ण रूपमा खाली गरिए सरकारको कदममा सहयोग रहने बताएका छन्। विगतमा पहुँच र शक्तिको दुरुपयोग गरी जग्गा किनबेच भएको उल्लेख गर्दै उनले वास्तविक सुकुमवासीलाई विकासको बाधकका रूपमा चित्रण गर्नु गलत हुने बताए।

पोखरा महानगरले भने दीर्घकालीन रूपमा व्यवस्थित बसपार्क निर्माण गरी यातायात व्यवस्थापन सुधार गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update