Harsamaya
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर चलाइँदै 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ । 

कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । ‘स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ’, उनले भने । 

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।  

वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ । शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहिन परिवारको लगत संकलन गरिरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update