काठमाडौं - लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनले भने, ‘काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

