काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका सुकुम्बासीका १ हजार २७२ घरटहरा भत्काइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले दुई दिनमा उक्त संरचना हटाएको हो।
थापाथली, गैरीगाउँ–बानेश्वर, जडिबुटी र भक्तपुरको मनोहरा क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत कुल १ हजार ६५० घरटहरामध्ये अधिकांश हटाइएको प्रहरीको तथ्यांक छ। केही पक्की घरसहित करिब ३८० संरचना अझै हटाउन बाँकी रहेको प्रहरीले बताएको छ।
बागमती नदी किनारस्थित थापाथलीमा मात्रै १४३ घरटहरा हटाइएका छन्। त्यहाँका ३४ परिवारका ११५ सदस्यलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको छ।
गैरीगाउँ–बानेश्वर क्षेत्रमा ५७८ मध्ये ५६० घरटहरा हटाइएको छ भने १५ वटा पक्की घर अझै बाँकी छन्। जडिबुटी–मनोहरा क्षेत्रमा ११४ संरचना भत्काइएको छ, जहाँ करिब ६०० मानिस बसोबास गर्दै आएका थिए। भक्तपुरको मनोहरा बस्तीमा पनि ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा हटाइएको छ।
मनोहरा नदी किनारमा डोजर प्रयोग गरी संरचना हटाउने काम वर्षाका कारण आइतबार रोकिएको छ र बाँकी काम सोमबार जारी राखिने जनाइएको छ। सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक व्यवस्थापन गर्ने काम भइरहेको जनाएको छ। सहाराविहीन नागरिकका लागि अस्थायी रूपमा होटल तथा लजमा बसोबास र खाद्य व्यवस्थासमेत मिलाइएको छ।
मन्त्री सुनील लम्सालले प्रभावित नागरिकलाई प्रहरीमार्फत सहयोग लिन आग्रह गर्दै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालासम्म सामान ढुवानी र त्यसपछि बसोबास व्यवस्थापन गरिएको जानकारी दिए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार पहिलो चरणमा जोखिमयुक्त बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी दीर्घकालीन बसोबास व्यवस्थापन गरिनेछ।
यसैबीच, विस्थापित बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर कम गर्न काठमाडौँ महानगरपालिकाले खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

