Harsamaya
औषधिको पोको लिएर बिरामीको घरघर पुग्ने डाक्टर 
रामेछापका डा. उत्तम गैरे सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै ।

रामेछाप - आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका डा. उत्तम गैरे रामेछापमा आएर सेवा दिन लागेको छोटो अवधिमा नै स्थापित भएका छन् ।

उनी अन्य कुराले जिल्लामा स्थापित भएका होइनन् । डा. गैर आफ्नो कामलेनै स्थापित भएका हुन् । स्वास्थ्य उपचारलाई जागिर भन्दा पनि नागरिकको सेवा ठानेकै कारण गैरे जिल्लामा छोटो समयमा स्थापित हुन सफल भएका छन् ।

सामान्य स्वास्थ्य सेवा नपाइरहेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिएका कारण उनी सबैका प्रिय भएका छन् । डाक्टर गैरे हरेक हप्ता आफ्ना सहयोगी साथीहरूका साथमा सानो झोलामा केही औषधि, रक्तचाप नाप्ने स्फिग्मोम्यानोमीटर मेसिन र मधुमेह नाप्ने ग्लुकोमिटर लिएर नागरिकको घरदैलोमा पुग्छन् ।

डाक्टरी रवाफमा होइन गाउँकै छोरो बनेर डा. गैरे अस्पताल पुग्न नसकेका ज्येष्ठ नागरिकका साथै नियमित रक्तचाप र मधुमेहको जाँच गराउन पर्छ भन्ने थाहा नभएका गाउँलेको स्वास्थ्य परीक्षण गर्छन् । आवश्यक परामर्श दिन्छ । आवश्यक पर्नेलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापबाट लगेको निःशुल्क औषधि दिन्छन् र थप उपचार गर्नु पर्ने भए चिकित्सालयमा नै आउन भन्छन् ।

त्रिभुवन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी गैरेमा उत्कृष्टताको कुनै रवाफ देखिँदैन । उनी गाउँको चौतारोमा, गाउँलेको पिँढीमा र ओछ्यानमा नै गएर पनि बिरामीको जाँच गरिरहेका हुन्छन् । यसले उनलाई सबैको प्यारो बनाएको छ ।

उनी रामेछाप आएको धेरै भएको पनि छैन । गत माघ महिनाबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापमा सेवा सुरु गरेका गैरे जिल्ला आएदेखि नै नियमित रूपमा नागरिकको घरदैलोमा पुगेका छन् । त्यस बाहेक चिकित्सालयले सञ्चालन गर्ने आयुर्वेद स्वास्थ्य शिविरमा पनि उनले त्यतिकै सेवा दिएका छन् । यसरी बिरामीलाई सेवा दिँदा आफूलाई छुट्टै आनन्द आउने उनी बताउँछन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा हरेक हप्ता घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको । सो कार्यक्रममा प्राय डा. गैरे नै जाने गरेका चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले बताए । ‘उहाँ फिल्डमा जान रहर गर्नुहुन्छ, त्यसैले प्राय उहाँ नै जानु हुन्छ’, कार्कीले भने ।

२०५७ साल असार २ गते अर्घाखाँचीको पाणिनि गाउँपालिका–५ मैदानमा जन्मिएका गैर सामान्य परिवारका सदस्य हुन् । उनका पिता नारायण प्रसाद गैरे शिक्षण पेसामा छन् भने आमा चित्रकला गैरे सामान्य गृहिणी हुन् ।

परिवारको कान्छो छोरा गैरेका दुई दिदीहरू छन् । उनीहरू पनि दुवै जना सरकारी सेवामा नै छन् । गाउँकै श्रीकृष्ण उच्च माध्यमिक विद्यालयबाट विशिष्ट श्रेणीमा २०७१ सालमा एसईई उत्तीर्ण गरेको गैरेले प्लस टु को पढाइ रुपन्देही बुटवलको एभरेष्ट माविबाट विशिष्ट श्रेणीमा २०७४ सालमा पुरा गएका थिए । त्यस पछि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस कीर्तिपुरमा २०७५ सालमा बिएएमएसको पढाई सुरु गरेका उनले २०८१ सालमा प्रथम श्रेणीमा सो पढाइ पुरा गरेका थिए ।

सरकारी जागिरको सुरुवात नै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापबाट सुरु गरेका गैरेले सेवाको सुरुवातदेखि नै सामाजिक काममा देखिएका छन् । देशका सबै चिकित्सक यस्तै भए नेपालको स्वास्थ्य क्षेत्रले फड्को मार्ने निश्चित छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update