Harsamaya
 स्वास्थ्य मन्त्रालयले भन्यो - अत्यावश्यक र आकस्मिक सेवा नियमित गर्नू, उपयुक्त अस्पतालमा रिफर गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि स्वास्थ्य सेवा सञ्चालनबारे स्पष्ट गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा रहे पनि देशभरका अस्पतालमा अत्यावश्यक र आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहनेछ। यद्यपि बिदाका दिन बहिरंग सेवा (ओपीडी) भने बन्द रहने जनाइएको छ।

मन्त्रालयका अनुसार बिरामीको उपचारमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले आकस्मिक सेवालाई २४ घण्टा सञ्चालनमा राखिनेछ। साथै, आवश्यक परे बिरामीलाई अन्य उपयुक्त अस्पतालमा सहज रूपमा रिफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिने उल्लेख गरिएको छ।

त्यसैगरी बिदाका दिन उपलब्ध सेवाबारे जानकारी सम्बन्धित अस्पतालहरूले आफ्नो वेबसाइट तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आगामी दिनमा अस्पताल व्यवस्थापन तथा सेवा सुधार (ओ एण्ड एम) कार्य सम्पन्न गरी स्वास्थ्य सेवालाई अझ सहज र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

671960464_27367586786177748_800342902411059065_n-1776421551.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update