Harsamaya
पाँच संसदीय समितिका सभापतिहरू निर्वाचित 
सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का ।

काठमाडौं - प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.ओजस्वी शेरचन चयन भएकी छन्

शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए । 

यस्तै, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । 

यता,  कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो । 

यस्तै प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । 

यता, प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।

उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update