Harsamaya
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर
पूर्व सभामुख कृष्ण बहादुर महरा ।

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार छली तथा भ्रष्टाचार प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा सहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा ल्याइएको वस्तुमा कारबाही नगरी भ्रष्टाचार गरिएको आरोप लगाइएको छ। सोही प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसमेत प्रतिवादी बनाइएका छन्।

आरोपपत्रमा भेप (इलेक्ट्रोनिक सिगरेट) जस्तो देखिने वस्तुभित्र लुकाएर ल्याइएको पहेँलो धातु (सुन) बरामद हुँदासमेत आवश्यक कानुनी प्रक्रिया पूरा नगरी भन्सार छली गराइएको उल्लेख छ। यस कार्यबाट सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुगेको आयोगको दाबी छ।

उक्त मुद्दामा महरासहित २८ जना व्यक्ति र डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र जरिवानासहित सजाय माग गरेको छ।

यो प्रकरण पछिल्लो समयको चर्चित भन्सार छली तथा सुन तस्करीसँग जोडिएको ठूलो भ्रष्टाचार मुद्दाका रूपमा हेरिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update