Harsamaya
नुवाकोटमा तीन जना कुष्ठरोगी भेटिए 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नुवाकोट - नुवाकोटमा तीन जनामा कुष्ठरोगको सङ्क्रमण भएको पाइएको छ । 

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद रिजालले तादी गाउँपालिकामा १ जना र बेल्कोटगडी नगरपालिकामा २ जनामा कुष्ठरोग देखिएको जानकारी दिएका छन् ।  १५ देखि ४५ वर्ष उमेरका रहेका उनीहरुमध्ये एक महिला र दुई पुरुष छन् ।  तीनै जनाको उपचार भइरहेको र नियमित औषधि सेवन गरिरहेको रिजारले बताए ।  

कुष्ठरोग एक दीर्घकालीन सङ्क्रामक रोग हो । यो माइक्रोब्याक्टेरियम लेप्री नामक जीवाणुका कारण हुन्छ र यसले मुख्य रूपमा छाला, नसाहरू, आँखा तथा नाकको भित्री भागमा असर गर्छ। यो रोग ढिलो सर्ने प्रकृतिको हुन्छ र प्रायः लामो समयसम्म उपचार नगरिएको बिरामीसँग नजिकको सम्पर्कमा रहँदा मात्र सर्न सक्छ। 

यसको प्रमुख लक्षणहरूमा छालामा सेतो वा रातो दाग देखिनु, दाग भएको ठाउँमा संवेदना कम हुनु, हातखुट्टा झमझम गर्नु तथा घाउ भएर पनि दुखाइ नहुनु हुन् । 

समयमै पहिचान गरी नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग हो । नेपालका सरकारी स्वास्थ्य संस्थाहरूमा यसको उपचार निःशुल्क उपलब्ध छ।

नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण देश घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । 

नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update