काठमाडौं - गायिका समीक्षा अधिकारीले यौन हिंसा पीडितहरूको पक्षमा आवाज उठाउँदै समाजलाई संवेदनशील बन्न अपिल गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो विगतको पीडा सम्झिँदै उनले आफूले सानै उमेरमा ठूलो मानसिक संघर्ष भोग्नुपरेको उल्लेख गरेकी छन्। ‘यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र म दिनदिनै मरीमरी बाँच्थेँ,’ उनले भनेकी छन्।
उनले पीडितहरूले भोग्ने पीडा शब्दमा व्यक्त गर्न नसकिने बताउँदै समाजले गर्ने प्रश्न ‘किन ढिलो बोलिस्?’ जस्ता टिप्पणीहरूले झन् आघात थप्ने उल्लेख गरेकी छन्। ‘त्यो समयको डर, दबाब र लाजले धेरै कुरा मनमै दबाउनुपर्छ,’ उनको भनाइ छ।
समीक्षाले पीडितको पीडालाई अरूसँग तुलना नगर्न आग्रह गर्दै हरेक घटनाको आफ्नै गहिराइ हुने बताएकी छन्। उनले समाजलाई संवेदनशील बन्न र पीडितप्रति सहानुभूति राख्न आग्रह गरेकी छन्।
संगम बिष्ट सम्बन्धी प्रकरणमा दुवै पक्षको सत्य बाहिर आउनुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने उनले उल्लेख गरेकी छन्।
अन्त्यमा उनले ‘यस्तो पीडा जसलाई पर्छ, उसैले मात्र बुझ्छ’ भन्दै आफू सधैं पीडितहरूको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

