Harsamaya
चोरीपछि २५०० वर्ष पुरानो सुनौलो हेलमेट बरामद
रोमानियाको २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट ।

नेदरल्यान्ड्स - गत वर्ष संग्रहालयबाट चोरी भएको रोमानियाको २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट अन्ततः बरामद भएको छ।

पूर्वी डच सहर एसेनमा आयोजित पत्रकार सम्मेलनमा ड्रेन्त्स सङ्ग्रहालयमा राखिएको उक्त हेलमेट सार्वजनिक गरिएको हो। डेसिया सभ्यतासँग सम्बन्धित ‘कोटोफेनेस्टी हेलमेट’ सुरक्षित रूपमा फिर्ता ल्याइएको अधिकारीहरूले बताएका छन्।

उक्त हेलमेट जनवरी २०२५ मा ६ महिनाको प्रदर्शनीको अन्तिम साता संग्रहालयबाट चोरी भएको थियो। चोरहरूले तीनवटा सुनका आर्मब्यान्डसहित हेलमेट लुटेका थिए। यसको ऐतिहासिक महत्त्वका कारण बेच्न कठिन हुने भन्दै पगालिएको हुनसक्ने आशंका गरिएको थियो।

चोरीमा संलग्न आरोपमा पक्राउ परेका तीन जनासँग भएको सहमतिपछि हराइरहेका तीनमध्ये दुई आर्मब्यान्ड पनि बरामद भएका छन् भने बाँकी एकको खोजी जारी छ। अभियुक्तहरूको मुद्दा अप्रिलमा सुरु हुने जनाइएको छ।

बरामद गरिएको हेलमेटमा केही सामान्य दाग देखिए पनि स्थायी क्षति भने नभएको संग्रहालयले जनाएको छ।

यस घटनाले रोमानिया र नेदरल्यान्ड्सबीच कूटनीतिक तनावसमेत सिर्जना गरेको थियो। रोमानियाले यसलाई ‘राज्यविरुद्धको अपराध’ भन्दै सम्पदा फिर्ता ल्याउन उच्च प्राथमिकता दिएको थियो।

हेलमेट फिर्ता भएसँगै दुवै देशका लागि महत्वपूर्ण सांस्कृतिक सम्पदा पुनः सुरक्षित भएको छ, यद्यपि पूर्ण पुनःस्थापना र बाँकी वस्तुको खोजी कार्य अझै जारी रहेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update