Harsamaya
खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा
सर्वोच्च अदालत ।

काठमाडौं - पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा दुवै जनाको रिटमाथि सुनुवाइ हुने तय भएको हो।

पूर्वमन्त्री खड्काको हकमा उनकी श्रीमती बिनिता खड्का र सांसद शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। खड्का सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आइतबार पक्राउ परेका थिए।

त्यस्तै, एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ। केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो।

उक्त घटनासम्बन्धी प्रसंगमा तत्कालीन मेयर बालेन्द्र शाह ले २९ माघ २०८१ मा सामाजिक सञ्जालमार्फत पीडित बालिकाको पक्षमा आवाज उठाउँदै दोषीमाथि कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update