काठमाडौं - दानबहादुर कार्कीले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । तर, कार्कीले उठाएका विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै रिटमाथि शीघ्र सुनुवाइ गर्न अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको माग अन्तिम सुनुवाइका क्रममा निरूपण र सम्बोधन हुन सक्ने प्रकृतिको देखिएको भन्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।
अदालतले प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग जोडिएको विषयलाई सामान्य विवादका रूपमा नलिई सार्वजनिक महत्वको संवेदनशील मुद्दाका रूपमा व्याख्या गरेको छ । निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्न अन्तिम सुनुवाइमै सम्बोधन हुने आदेशमा उल्लेख छ ।
यद्यपि, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै सर्वोच्चले सुनुवाइ लम्ब्याउन नहुने स्पष्ट पारेको छ । विपक्षीबाट लिखित जवाफ परेपछि वा जवाफ दिने अवधि सकिएपछि सात दिनभित्रै पेसी चढाउन र पेसी नहटाउने गरी दुवै पक्षलाई पूर्वसूचना दिन आदेश गरिएको छ ।
यस आदेशले कार्कीको माग तत्कालका लागि पूरा नभए पनि उनले उठाएको विषयमा अदालतले शीघ्र न्यायिक निरूपण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र डा. दिनमणि पोखरेललगायतले बहस गरेका थिए । नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले बहस गरेका थिए ।

