Harsamaya
नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

भैरहवा - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर  नियन्त्रणमा लिएको छ ।

कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ कलुवास्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार भइरहेको अवस्थामा भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।

 ती सवारीलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिका कार्यालय पठाइएको र सो क्रममा रु तीन लाख २० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 

जिल्लामा चोरी, तस्करी नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन गर्नेविरुद्ध प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । 

प्रहरीले अवैध गतिविधिमा संलग्न लाई कानुनी दायरामा ल्याइने बताएको छ । प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update