काठमाडौं - राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सोमबार कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
झा २०७९ असार ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । उनले ०७९ असार १२ गतेदेखि कार्यभार ग्रहण गरेका थिए ।
कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।
‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवद्र्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।
झाले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको उल्लेख गर्दै भनेका छन्, ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु ।’
आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।
झाले गरेका केही कामहरु :
– तीन मातृभाषासहित पाँच भाषामा समाचार सम्प्रेषण सुचारु ।
–संघीय सरकारको सहयोगमा २०७९ मा निर्माण प्रारम्भ भएको चितवनको भरतपुरमा राष्ट्रिय तालिम केन्द्र भवनको निर्माणकार्य अन्तिम चरणमा ।
–कैलालीको धनगढीमा प्रदेश सरकारको सहयोगमा राससको जग्गामा सुदूरपश्चिम सञ्चार विकास केन्द्र निर्माणका लागि डिपिआर बनेको छ भने प्रदेश सरकरबाट टेण्डर आव्हान गरिएको छ ।
–झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज र कास्कीको पोखरास्थितस्थित राससको जग्गामा बहुउदेश्यीय भवन निर्माणका लागि क्रमशः कोशी, मधेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिएको छ र पछिल्लो समयमा यी प्रदेश सरकारलाई ससहयोगका लागि पुनः पत्राचार गरिएको ।
–लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रको अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ मा राससको प्रदेश कार्यालय निर्माणका लागि जग्गाप्राप्तिको प्रक्रिया अगाडी बढेको छ ।
–लोकसेवा आयोगको सुझावमा राससको विद्यमान कर्मचारी विनियमावली संशोधनको प्रक्रिया प्रारम्भ गरिए पनि करिव डेढ वर्षपछि २०८२ पुसमा मात्र यो संशोधनको प्रक्रियाले अन्तिम रुप लिएको ।
–आव २०८०/८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा २०८१ कात्तिक १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा घोषित परिणमअनुसार रासस मन्त्रालयमातहतका निकायमध्ये उत्कृष्ट घोषित हुन सफल ।
–कार्यालय व्यवस्थापन तथा सुशासन : राससका कार्य सम्पादनलाई थप व्यवस्थित र प्रभावकारी तरिकाले सञ्चालन गर्न विगतको अवस्थामा सुधार गर्दै केही नयाँ प्रक्रिया र प्रयास अवलम्बन गर्ने प्रयास गरियो ।
–नयाँ भवनबाट कार्यारम्भ : राससको सिंहदरबार भद्रकाली प्लाजास्थित नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ साउन ११ गते उद्घाटन सम्पन्न भयो ।
–कार्यालय पोशाक : कार्यालय समयमा सबै कर्मचारीहरुले सेतो सर्ट, नेभी ब्लु रङकोे प्यान्ट र कोटसहितको पोशाक अनिवार्यरुपमा लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको छ ।
–विद्युतीय हाजिरी संयन्त्र : हाल केन्द्रीय र प्रदेश कार्यालयमा विद्युतीय हाजिरी संयन्त्र जडान गरी हाजिरी प्रणालीलाई व्यवस्थित गरिएको छ । सिफ्टमा काम गर्ने कर्मचारीका लागि समेत अनिवार्य आगमन उपस्थिति र बहिर्गमन जनाउनुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो समयमा विराटनगर, जनकपुर, बुटवल, हेटौँडा, धनगढी र सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पनि प्रणाली जडान गरी विद्युतीय हाजिरीको व्यवस्था मिलाइएको छ ।
–नागरिक बडापत्र र गुनासो पेटिका : सुशासन ऐन कार्यान्वयनमा जोड दिइएको छ । यस ऐनअनुसार हाल कार्यालय परिसरमा नागरिक बडापत्र राखिएको छ ।
–जिन्सी तथा अन्य सम्पत्तिको अनुगमन : राससको देशभर रहेका प्रादेशिक तथा जिल्ला कार्यालय र केन्द्रीय कार्यालयमा रहेका जिन्सी तथा अन्य सम्पत्तिको अनुगमन, अध्ययन तथा परीक्षणको प्रक्रिया प्रारम्भ गरिएको छ ।
–उच्च व्यवस्थापन समूहको बैठक : विगतमा वोर्ड बैठक र आवश्यकतानुसार अन्य बैठकमात्र बस्ने गरेको राससमा हाल महिनाको दुई पटक उच्च व्यवस्थापन समूहको बैठक बस्ने परम्पराको प्रारम्भ गरिएको छ ।
–वार्षिक प्रगति समीक्षा बैठक : राससका वार्षिक प्रगतिमाथि कर्मचारी–पत्रकारका सहभागितामा आव ०८०/८१ र ०८१/८२ दुई वर्ष समीक्षा बैठक सम्पन्न भएको छ ।
–कार्यसम्पादन सम्झौता : विगत तीन आर्थिक वर्षदेखि अध्यक्ष–महाप्रबन्धक, महाप्रवन्धक–नायब महाप्रवन्धक र नायब महाप्रबन्धक–विभागीय प्रमुखबीच कार्यसम्पादन सम्झौता भइआएको छ ।
–समावेशी नीतिको कार्यान्वयन् : व्यवस्थापनले राससलाई समावेशी बनाउने नीति लिएअनुरुप समाचार सामग्री निर्माण तथा सम्प्रेषण र जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण प्रयास गरिएको छ ।
–खानपानी सेवाको व्यवस्थापन : विगत १० वर्षदेखि अवरुद्ध रहेको खानेपानी संस्थानको खानेपानी सेवालाई हाल सुचारु गरिएको छ ।
–बैठक भत्ता निरुत्साहन, खाजा खर्चमा कटौती : अहिले कार्यालय समयपछि हुने बैठक सञ्चालन व्यवस्थामा सुधार गरेर बैठकभत्ता वितरणको प्रक्रियालाई निरुत्साहित गरिएको छ ।
–उजुरी पेटिकाको व्यवस्था : सुशासनसम्बन्धी ऐन २०६३ कार्यान्वयन्का सन्दर्भमा ऐनमा व्यवस्था भएअनुसार सबैले देख्ने गरी उजुरीपेटिकाको व्यवस्था गरी रासससँग सरोकार राख्न खोज्ने सबैका लागि सहज व्यवस्था निर्माणको अभ्यास प्रारम्भ गरिएको छ ।
–सिसि टिभिको विस्तार : पहिला कार्यालयमा सीमित संख्यमा मात्र सिसि टिभि हुँदा यसले सम्पूर्ण आवश्यकताको सम्बोधन गर्न सकेको थिएन । पछिल्लो समयममा कार्यालयको प्रत्येक कोठालाई लक्षित गरेर प्रत्येक तलामा यो टिभिको व्यवस्था गरिएको छ ।
–महिला तथा बालबालिका कक्ष : राससलाई महिला तथा बालमैत्री बनाउने सम्भव भएसम्मको प्रयास गरिएको छ ।
–अपागंमैत्री कार्यालय भवन : राससको केन्द्रीय कार्यालय बहुतले भवनमा व्यवस्थित भएको वास्तविकताका आधारमा यस कार्यालय भवनको उपयोग गर्न अपांगसमेतलाई अनुकूल हुनुपर्ने यथार्थलाई आत्मसात गरिएको छ ।
–निर्देशिकाका आधारमा मात्र स्ट्रिंगर नियुक्ति र नवीकरण : स्ट्रिंगर समाचारदाता नियुक्ति र नवीकरणका लागि सञ्चालक समिति बैठकबाट निर्देशिका स्वीकृत गरी लागू गरिएको छ ।
–पारिश्रमिक पुनरवलोकन :आलेख अनुवाद, श्रव्यदृश्य क्लिपको पारिश्रमिक पुनरवलोकन गरिएको छ ।
–निर्वाचन आयोगसँगको हातेमालो : निर्वाचन आयोगबाट निर्वाचनका सन्दर्भमा सहकार्यका आधारमा सहयोगवापत प्राप्त हुने रकममा निरन्तर वृद्धि हुन सकेको छ । २०७९ को निर्वाचनपश्चात राससलाई आयोगबाट २ वटा गाडी पनि प्राप्त भयो भने २५ लाख आर्थिक सहयोग प्राप्त हुन सक्यो । २०८२ को निर्वाचनका सन्दर्भमा रु ३० लाख रकम प्राप्तिको सुनिश्चित हुने गरी २०८२ माघ २० गते समाचार उत्पादन र सम्पेषणसम्बन्धी आयोग र राससबबीच सम्झौता भयो ।
–गुगलसँग सहकार्यको खोजी : इन्टरनेटमा आधारित विश्वचर्चित सर्च इन्जिन गुगलसँग पनि राससले आफ्ना पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्यको खोजी गरेको छ र केही भए पनि सफलता प्राप्त भएको छ ।
–प्रदेश र स्थानीय सरकारसँगको सहकार्यको नीति : आफ्नो समुन्नति र विकासका लागि संघीय सरकारको सहयोगमा मात्र निर्भर हुने अवस्था नरहेको यथार्थबारे राससलाई हेक्का छ । यस पृष्ठभूमीमा राससले प्रदेश सरकार र स्थानीय तहसँग सहकार्यका लागि हातेमालोको प्रस्ताव अघि सार्ने नीति लिएको छ ।
–प्रेस काउन्सिलसँग सहकार्य : प्रेस काउन्सिलसँग सहकार्य गरी राससबाट प्रेषित समाचारको अनधिकृत प्रयोगमाथि नियन्त्रण गर्ने प्रयास जारी छ । साथै विज्ञापन बोर्डसँग पनि सहकार्य गरिएको छ ।
–प्यान र भ्याटमा दर्ता : आर्थिक कारोबारलाई नियमसम्मत र पारदर्शी बनाउन २०८० भदौमा राससलाई प्यान र भ्याटमा दर्ता गरिएको छ । मलेपको सुझाव कार्यान्वयन् गरिएको छ ।
–आयमा वृद्धि : पछिल्ला वर्षमा राससको आयमा वृद्धि भएको छ । आन्तरिकतर्फ घरभाडावापत प्राप्त हुने आयलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको छ । काकडभिट्टा, वीरगञ्ज र पोखराका घरहरु टेण्डर प्रक्रियावापत भाडामा लगाउँदा आयमा उल्लेख्य वृद्धि भएको छ भने विगतमा कायम रहेको बाँकी बक्यौता असुलउपर गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरियो ।
वजेट निर्माणमा आमसहभागिता : पछिल्ला समयमा समितिको वार्षिक वजेटलाई सञ्चालक समितिबाट अन्तिम रुप प्रदान गरिनुअघि विभिन्न विधिबाट कर्मचारीको आमसहभागिताको प्रयत्न गर्ने गरिएको छ ।
–पुराना स्ट्रिन्जरलाई बक्यौता प्रदान : विगतमा राससमा आबद्ध रही काम गरेका र हाल सेवाबाट अलग रहेका स्टिन्जंरले पारिश्रमिकवापत पाउनुपर्ने रकम कार्यालयमा बाँकी रहेको देखिन आएमा कार्यालयको अभिलेखका आधारमा त्यस्ता पुराना सहकर्मीलाई सम्पर्क गरी रकम प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
–शून्य बेरुजु : नेपालका थुप्रै सार्वजनिक निकायमा ठूलो परिमाणमा वेरुजु कायम रहेको पृष्ठभूमीमा राससमा वेरुजु फस्र्योटलाइ प्राथमिकतामा राखिएको छ र पछिल्लो समयमा कार्यालय वेरुजुमुक्त हुन पुगेको छ ।
–सेवा विविधीकरण :
यस अवधीमा राससलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने नीतिअनुसार यसका सेवाहरुमा विविधीकरणको प्रयत्न गरिएको छ । यसमा निम्न कुरामा सफलता पाउन सकिएको छ
–श्रव्यदृश्य सेवाको थालनी : राससबाट श्रव्यदृश्य सेवाको प्रारम्भ २०७९ साउन १ गतेदेखि भएको छ । फिल्म क्रु नेपालसँगको प्राविधिक सहयोगमा थालिएको यो सेवा पछिल्ला दिनमा लोकप्रीय भएको पाइएको छ । यो सेवा उपयोग गर्ने ग्राहकको संख्या दिननुदिन क्रमशः बढिरहेको छ ।
– २४ सै घण्टा समाचार सेवा
अधिकारिक सूचना र समाचारमाथिको आमजनताको पहूँच सुनिश्चित गर्नुपर्ने आफ्नो दायित्व र सेवाग्राही सञ्चार माध्यमको बढ्दो मागलाई ध्यानमा राखेर राससले २०८१ भदौ १७ गतेदेखि २४सै घण्टा नेपाली समाचार प्रवाह गर्न सुरु गरेको छ ।
– मातृभाषामा समाचार सेवा
समावेशी नीतिलाई कार्यान्वयन् गर्ने सन्दर्भमा मातृभाषा पत्रकारितालाई टेवा पुर्याउन राससले २०८० पुस महिनादेखि अवधी भाषामा मातृभाषा समाचार बुलेटिन प्रकाशन गर्न सुरु गर्यो ।
–‘विचार’ र ‘अन्तर्वार्ता’ सेवाः राससले आफ्नो समाचार सेवामा २०७९ साउनदेखि ‘विचार’ र ‘अन्तर्वार्ता’ सेवा थपेको छ । यी सेवाको थालनीले लेखक, पत्रकार, चिन्तक तथा विषयविज्ञका लागि आ–आफ्ना अभिमत प्रकट गर्ने ‘आउटलेट’ प्रदान गरेको छ भने राससको समाचार स्रोत विस्तार र जनसम्पर्क पहुँचमा पनि अभिवृद्धि भएको छ ।
–सामाजिक सञ्जालमा तस्वीर र श्रव्यदृश्य सामग्री : राससबाट प्रवाहित श्रव्यदृश्य सामग्री र तस्वीरलाई युट्युब र फेसबुकगायतका सामाजिक सञ्जालको माध्यमबाट प्रचारमा ल्याइँदा संस्थालाई हुने लाभहानी र यो सेवा सञ्चालन गर्ने तौरतरिकाबारे अध्ययन गर्न एक कार्यदललाई जिम्मा दिइएको थियो ।
– फेसबुकमार्फत प्रत्यक्ष प्रशारणको प्रयोग साथै पडकास्टको अवधारणा कार्यान्वयन् र परीक्षण सञ्चालन साथै एफटिपिबाट श्रव्यदृश्य समाचार सेवा सञ्चालन ।
–समाचारकक्षको आधुनिकीकरण र समाचार आर्काइभ ।
– कर्मचारी वृत्ति विकास र पदपूर्ति प्रक्रिया सुचारु ।
–सामाजिक सुरक्षा कोषमा आबद्धता र कार्यान्वयन : राससमा विगत लामो समयदेखि निम्न तहमा सवारी चालक र कार्यालय सहायकस्तरका कर्मचारीहरु सेवारत रहि आएका छन् ।
भालुवाङ, गाइघाट र हेटौंडामा जग्गा प्राप्तिको प्रयास संखुवासभामा घर निर्माणको पहल
साथै भीमदत्तनगरमा घर निर्माण ।

