Harsamaya
ओमानमा भारी वर्षाको चेतावनी
प्रतिकात्मक तस्वीर ।

मस्कट - ओमानको नागरिक उड्डयन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा भारी वर्षा र मेघगर्जनको चेतावनी जारी गरेको छ।

प्राधिकरणका अनुसार बुधबार बिहान ७ बजेदेखि राति १० बजेसम्म भारी वर्षा, असिना र तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। चेतावनी मस्कट सहित मुसान्दम, अल बुराइमी, उत्तर तथा दक्षिण अल बातिनाह, अल धाहिराह, अल दाखिलिया, उत्तर तथा दक्षिण अल शरकियाह र अल वुस्ता क्षेत्रहरूमा लागू हुने जनाइएको छ।

उक्त क्षेत्रमा मध्यमदेखि उच्च प्रभाव पर्ने आँकलन गरिएको छ। मेघगर्जनसँगै असिना पर्ने, २० देखि ५० नट (करिब ३७ देखि ९२ किलोमिटर प्रतिघण्टा) सम्मको तीव्र हावा चल्ने तथा दृश्यता घट्ने जोखिम रहेको बताइएको छ।

यस्तै, आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउने सम्भावना पनि रहेको छ। धुफार क्षेत्रमा भने न्यून प्रभावसहित हल्का वर्षा र कहिलेकाहीँ मेघगर्जन हुने अनुमान गरिएको छ।

प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै खोलानाला (वाडी) पार नगर्न, होचा भूभागबाट टाढा रहन र चेतावनी अवधिभर समुद्री यात्रा नगर्न सुझाव दिएको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update