नयाँदिल्ली - भारतले तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण तीव्र रूपमा फैलिन थालेपछि यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले औषधिको अनियन्त्रित प्रयोग बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन दुवै कडा बनाएको जनाएको हो।
ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट समाप्त भएसँगै भारतमा यसको सस्तो जेनेरिक उत्पादन बजारमा छ्याप्छ्याप्ती हुन थालेको छ। विश्वकै ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै सर्वसाधारणको पहुँच बढाएको छ।
जीएलपी–१ वर्गका यी औषधिले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनमा प्रभाव पार्ने भएकाले मोटोपना नियन्त्रणमा प्रभावकारी मानिन्छ। तर मन्त्रालयले चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ।
हाल बजारमा विभिन्न जेनेरिक भेरियन्ट उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित बिक्री बढ्ने जोखिम देखिएको मन्त्रालयको भनाइ छ। ‘उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ,’ मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच, नियामक निकायले निरीक्षण कडा पार्दै उत्पादकहरूलाई भ्रामक प्रचार र गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ।
पछिल्ला वर्षहरूमा भारतमा तौल घटाउने औषधिको बजार तीव्र रूपमा विस्तार भइरहेको छ। मूल्य घटेसँगै प्रयोग बढे पनि अनियन्त्रित प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

